१० वर्ष मृत्यु कुर्दै युएईको जेलमा एक नेपाली
कात्तिक १५ – दर्चुलाको धारी गाविसबाट रोजगारीका लागि दुवई पुगेको एक महिनामै जेल परेका अमरबहादुर बम १० वर्षदेखि मृत्युको मुखमा हुनुहुन्छ ।
कुन दिन, कहाँ लगेर कसरी मार्छ भन्ने पिरलोमा १० वर्ष बिताएका बम सरकारले आफ्नो ज्यान बचाउन कुनै प्रयास नगरिदिँदा अझ चिन्तित हुनुहुन्छ ।
बमको जीवन रक्षाका अभियानकर्ता बनेका नेपाली समाज युएईका पूर्व अध्यक्ष तथा अमर बचाउ अभियानका युएई संयोजक कृष्णबहादुर ढकाल लगायतको प्रतिनिधी मण्डलले बमको ज्यान बचाउन सरकारलाई आग्रह पनि गर्योय । तर पनि केही उपलब्धि हात परेन । अहिलेको सरकारलाई पनि उनीहरुले बमको ज्यान बचाइदिन आग्रह गरे । सरकारले उनीहरुलाई अमरको ज्याना बचाइदिने आश्वासन पनि दियो तर अहिलेसम्म केही उपलब्धि हुन सकेको छैन ।

मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्र सघं कार्यक्रममा भाग लिएर फर्कने क्रममा युएई पनि पुग्नुभयो । युएईमा रहेको नेपाली दुतावासमै कार्यक्रम पनि राखियो । तर कार्यक्रममा बमको विषयमा बोल्न पनि नदिइएको नेपालीहरुको गुनासो छ ।
यसबारेमा सार्वजनिक रुपमा नबोल्न र कार्यक्रममा चर्को भाषण नगर्न पनि दुतावासले भनेको नेपालीहरु बताउँछन् । ‘युएइको अदालतले दोषी ठहर गरेको व्यक्तिलाई हामीले कसरी निर्दोष भन्ने ?’ दुतावासको उपनियोग प्रमुख दिपक अधिकारिले भन्नुभयो, ‘जुन देशमा बस्छौं त्यस देशको कानुनको सम्मान गर्नुपर्छ ।’
दुतावासको यो व्यवहारले जेल भित्र मृत्युका दिन गन्दै बसेका अमर भने भक्कानो छोडेर रुनुभयो । उहाँ गुनासो गर्नुहुन्छ, ‘नेपालमै रोजगारी दिएको भए मैले यसरी विदेशी भूमीमा जेल जीवन बिताउनु पर्ने थिएन । आखिर मैले नेपाल र नेपाली दुतावासको के खाएको छु र ? मलाई आप्mनै सरकारले समेत हेर्दैन ।’
आफ्ना नागरिक कुन देशमा कसरी काम गर्दै छ भन्ने हेक्का नराख्ने सरकारले अब मलाई केही गर्ला कि भन्ने आशा आफूसँग नभएको उहाँ बताउनुहुन्छ । सुरुमा दुबई जुमेराहमा रहेका कैदी घरमा राखेको र हाल अल अविर जेलमा सारिएको छ ।
सन् २००२ को डिसेम्बर २३ मा दुबई पुगेका बम २००३ को जनवरी २६ बाट दुबईको जेलमा छन । भारतमा रोजीरोटीका लागि पुगेका बम त्यहाँको एउटा मार्बल कम्पनीको काम छोडेर सवारी चालक बन्न दुबइ पुग्नुभयो ।
भारतीय कम्पनीवाला नागरिकले २० हजार भारतीय रुपैयाँ तलब दिने आश्वासन देखाएपछि विहे गरेको २३ दिनमा श्रीमती छोडेर उहाँ भारतबाट दुवईका लागि पुग्नुभएको थियो । भारतमै सवारी चालक अनुमती लिएर दुबई पुगेका बक दुवई पुगेको एक महिनामै एक भारतीय नागरिकको हत्या आरोपमा पक्राउ पर्नुभयो ।
भारतीय दुई नागरिकको निजी सवारी चालकको रुपमा दुवईमा काम गर्न पुगेका बम उनीहरुको ड्राइभर रहेकै अवस्थामा पक्राउ पर्नुभयो । उहाँले चलाएको गाडीमा सवार मालिकहरुले बरदुवईमा रहेको इन्डियन क्लवमा एक जना भारतीय नागरिकको हत्या गरेको उनीहरुले स्विकारेका थिए ।
आफ्ना मालिकसँगै बमलाई पनि अदालतले मृत्युदण्डको सजायँ सुनायो । हालसम्म उनीहरु तीनै जना दुवइको अल अविर जेलमा छन । उनीहरु दुईले हत्यामा आफूहरु मौ संलग्न रहेको र बम निर्दोष रहेको भन्दै लिखित रुपमा पत्र समेत लेखेका छन् ।
हत्या आरोपमा पक्राउ परेका अमर बमले अदालतको सुरुवाती बयानमा हत्यामा आफू संलग्न भएको स्वीकार गर्नुभएको थियो । ‘गर्दै नगरेको आरोपलाई छुट पाउने आशामा सबै स्वीकारें, भाषा र आफ्नो बारे बोलिदिने कोही नभए पछि मलाई समस्या भयो ।’ उहाँले आफूले स्पष्टीकरण भने दिन नसकेको बताउनुभयो ।
बम जेल परेको खबर २००९ मा मात्रै सार्वजनिक भएको थियो । तत्कालिन राजदुत अर्जुनबहादुर थापाले यो कुरा सार्वजनिक गर्नुभएको थियो ।
उमाकान्त पाण्डे/युएई
0 comments
Write Down Your Responses