जहाजमा चरा ठोक्कियो, पाइलटले थाहै पाएनन्

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं : नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने ९ एन एसीबी बोइङमा बिहीबार राति चरा ठोक्किएको छ। हङकङबाट काठमाडौं आएको यो जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो। जहाजको बायाँतर्फको पँखेटामुनि रहेको फ्ल्यापमा चरा ठोक्किएर यो भागमा क्षति भएको निगमले जानकारी दिएको छ। पाइलटले भने चरा ठोक्किएको थाहा नै पाएनन्।

जहाजको प्राइमरी फ्लाइट कन्ट्रोलको यो फ्ल्यापमा चरा ठोक्किएको इन्जिनियरिङ विभागले जहाज अवतरणपछि अर्को उडानका लागि जाँच गर्ने क्रममा मात्रै थाहा भएको निगमले जानकारी दिएको छ। चरा ठोक्किएका कारण जहाजको बायाँ पखेटामुनि १० देखि १२ इन्चको वर्गाकार प्वाल परेको छ।

जहाज अवतरण गर्ने क्रममा जमिनमा गुडिरहेको अवस्थामा चरा ठोक्किएकोले चालक दललाई थाहा नभएको हुन सक्ने निगम स्रोतको भनाइ छ। हरेक पटक जहाज अवतरण गरेपछि यसको अवस्था र यसमा भएका गतिविधिको बारेमा पाइलटले लग बुकमा जानकारी गराउनुपर्छ।

चरा ठोक्किएको संवेदनशील विषय भए पनि चालक दललाई थाहा नभएकै कारण लगबुकमा उल्लेख नभएको अनुमान निगमको इन्जिनियरिङ विभागले गरेको छ। चालक दलले पनि जहाजमा चरा ठोक्किएको थाहा नभएको जानकारी नदिएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए।

हङकङबाट ९० जना यात्रु बोकेर काठामाडौं आएको यो जहाज बिहीबार राति १२ बजेर पाँच मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो। जहाज क्याप्टेन सुवर्ण अवालेको कमान्डमा थियो भने सहचालकको सिटमा अर्का क्याप्टेन सन्तोष शर्मा थिए। चरा ठोक्किएका कारण सोही रातको साढे ११ बजेको मलेसियाको उडान रद्द भएको थियो। जहाज काठमाडौंबाट उडान गर्न नै ढिलो गरेकाले फर्कने बेलामा पनि निर्धारित समयभन्दा एक घन्टा ढिलो भएको थियो।

यो जहाजमा चरा ठोक्किएर ग्राउन्डेड भएका कारण शुक्रबारका लागि राखिएको कतारको दोहा र मलेसियाको क्वालालम्पुरको उडान रद्द भएको छ। क्षति भएको फ्ल्याप सिंगापुरबाट ल्याएर आवश्यक मर्मतपछि मात्रै जहाज उडाउन सकिने भएकाले अझै चारपाँच दिन ग्राउन्डेड हुने भएको छ। यसबाट उडान तालिका पनि प्रभावित भएको निगमले जानकारी दिएको छ। जहाजमा चराको भुवा भेटिएको भए पनि सो ठाउँमा चरा मरेको भने नभेटिएको निगमले जनाएको छ।

सञ्चालक समितिमा छलफल
निगमको शुक्रबार बसेको सञ्चालक समिति बैठकमा नयाँ जहाज आउने भएपछि निगमलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ। निगमको आन्तरिक उडानका लागि आगामी मार्च १५ मा एउटा एमए ६० नामको चिनियाँ जहाज आउने भएको छ।

यसपछि क्रमश: थप जहाज आउने क्रम ६ महिनाभित्रमा नै पूरा हुने भएकाले निगमलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने प्रस्ताव सञ्चालक समितिसमक्ष पेस भएको छ। निगमको आन्तरिक उडानका लागि ६ वटा चिनियाँ जहाज आउने भएको छ। नयाँ जहाजसँगै आवश्यक जनशक्ति , कुन रुटमा जहाज सञ्चालन केन्द्रित गर्ने र कसरी संस्था सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक गृहकार्य गर्न छलफल सुरु भएको निगम सञ्चालक समितिका सदस्य रञ्जनकृष्ण अर्यालले बताए।

जहाज निर्माता एअरबसले एक वर्षअगाडि नै जहाज दिनसकिने प्रस्ताव निगमलाई पठाएको जानकारी बोर्डलाई प्राप्त भएको छ। निगमले नै आवश्यक तयारी गरिहरेकोले प्रस्ताव बोर्डमा भने नआएको अर्यालले जानकारी दिए। निगमका प्रवक्ता चन्दले एअरबसको प्रस्ताव राम्रो भए पनि स्वीकार गर्ने अवस्था तत्काल नरहेको जानकारी दिए। उनका अनुसार निगमले एक वर्षपछिकै लागि गरेको तयारीलाई फेरि हेरफेर गर्नु झन्झटिलो भएकाले पनि चाँडो जहाज लिन नसकिने अवस्था छ। 

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses