बन्दमा कहाँ के भयो ?
नुवाकोट, २६ कात्तिक । नेपाली कांग्रेसका कार्यकर्ताको प्रतिकारमा परी सामरीमा एकीकृत नेकपा माओवादीका चार कार्यकर्ता घाइते भएका छन् । एमाओवादी गाउँ कमिटी अध्यक्ष रामेश्वर खड्काको टोलीमाथि काँग्रेस कार्यकर्ताले गए राति १:३० बजेतिर आक्रमण गरेको एमाओवादीले आरोप लगाएको छ । मतदाताका घरमा कुराकानी गरिरहेको बेला काँग्रेस कार्यकर्ताको आक्रमणमा परी गाउँ कमिटीका अध्यक्ष खड्कासहित उहाँका छोरा रघु र मच्छिन्द्र घाइते हुनुभएको बताइएको छ ।
घाइते तीनै जनाको टाउको र गर्धनमा गम्भीर चोट लागेकाले उपचारका लागि आज बिहान राजधानी पठाइएको एमाओवादी जिल्ला नेता हिरानाथ खतिवडाले बताउनुभयो । अर्का एक कार्यकर्ता रामकुमार खड्का सामान्य घाइते हुनुभएको छ ।
काँग्रेसका क्षेत्रीय सभापति जगत तामाङको नेतृत्वमा आएको आशा तामाङ र हरि तामाङलगायतको समूहले आक्रमण गरेको एमाओवादीले आरोप लगाएको छ । नुवाकोट–३ मा एमाओवादीका पूर्वमहासचिव पोष्टबहादुर बोगटी र काँग्रेसका बहादुरसिंह लामा तामाङ उम्मेदवार हुनुहुन्छ ।
सामरीमा एमाओवादीले काँग्रेस कार्यकर्तालाई कुटपिट गरेपछि प्रतिकार गर्नेक्रममा झडप भएको स्विकार्दै काँग्रेस उम्मेदवार लामाले भन्नुभयो– “ तिनले मध्यरातमा घर घर चहार्दै हल्ला गर्ने काम गरी हाम्रा साथीलाई कुटेछन्, पछि हाम्रा साथीले पनि प्रतिकार गरेका हुन् ।”
काठमाडौं, उपत्यकाको जनजीवन सामान्य बन्दै, सात बन्दकर्ता पक्राउ
काठमाडौं । नेकपा–माओवादीसहितको मोर्चाले आह्वान गरेको आमहडतालको दोस्रो दिन मंगलबार काठमाडौं उपत्यकाको जनजीवन सामान्य रहेको छ । आइतबारका तुलनामा निजी तथा सार्वजनिक सवारी साधन बाक्लो सङ्ख्यामा चलेका तथा शैक्षिक संस्था, उद्योग, कलकारखाना र सडक चोकका पसल खुलेका छन् । साझा यातायातलगायत सार्वजनिक साधन चलिरहेका छन् । बन्दकर्ताले उपत्यकाका केही स्थानमा बिहान केही तोडफोडको प्रयास गरेको भए पनि अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले बिहान काठमाडौँ र ललितपुरका आधा दर्जन स्थानमा विभिन्न सवारीसाधनमाथि तोडफोड गरेका छन् । काठमाडौँको प्रदर्शनीमार्ग, पुरानो बानेश्वर, मध्यबानेश्वर र नयाँ बानेश्वरमा ट्याक्सी र ललितपुरको बालकुमारीमा माइक्रोबसमाथि आक्रमण गरिएको हो ।
प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीका अनुसार अहिले उपत्यकाको जनजीवन सामान्य रहेको छ, सवारी साधन निर्बाधरुपमा चलेका छन् र सवारी साधनको सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको छ । प्रवक्ता केसीले जबर्जस्ती बन्द गराउन खोज्ने सात जनालाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको बताउनुभयो । यसरी पक्राउ पर्नेमा काठमाडौँमा तीन पोखराबाट दुई र सुर्खेतबाट दुई जना छन् । प्रहरीले सोमबार ८३ बन्दकर्तालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकालाई दोषी देखिए कडा कारबाही गर्ने र बाँकीलाई स्थानीय प्रहरीको रोहबरमा छोडिने केसीले बताउनुभयो ।
प्रहरीका अनुसार बिहान ललितपुरको बालकुमारीमा लगनखेल–रत्नपार्क चल्ने बा१ज ६२८८ नंको माइक्रोबसमा पेट्रोलको बोतलले आक्रमण गर्दा त्यसमा सवार चारवर्षे बालक अभिषेक लामा घाइते भएका छन् । गल्लीबाट लुकेर प्लास्टिकको बोतलमा तेल हालेर माइक्रोबसलाई प्रहार गर्दा माइक्रोको सिसा फुटेर केही व्यक्ति घाइते भएको प्रहरीको भनाइ छ ।
यसैबीच बन्द विफल पारी जनजीवन सामान्य पार्न सरकारले उपत्यकामा विशेष सुरक्षा सतर्कता अपनाएको छ । उपत्यकाका सडकमा सुरक्षा निकायका तीनवटै अङ्गलाई परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडक र संवेदनशील स्थानमा गस्ती गरिरहेका तथा प्रहरीले उपत्यकाका सडकमा बिहानैदेखि पिनेट, मोबाइल र स्कर्टिङ गरी सवारी साधन सञ्चालनको वातावरण बनाइरहेको छ ।
उपत्यकामा आज आपूर्ति व्यवस्था सहज र नियमित रहेको सरकारले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले सरकारले सोमबार सरोकार भएकाहरुसँग छलफल गरी आपूर्ति व्यवस्थालाई नियमित पारिएको बताउनुभयो । उहाँका अनुसार सोमबार कालिमाटी तरकारी बजारमा ५६० मेट्रिकटन तरकारी आएको थियो जुन सामान्य दिनको सरह नै हो । आज पनि सोही हाराहारीमा तरकारी ढुवानी भएको बताइएको छ ।
रामसपाको समानुपातिक उम्मेदवारको गाडीमा आगजनी
सिराहा । शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी निकट मुस्लिम संघका जिल्ला अध्यक्ष तथा समानुपातिक उम्मेदवार अमजा राइनको गाडीमा आगजनी भएको छ । सोमबार राति साढे १० बजे अज्ञात व्यक्तिको समूहले उम्मेदवार राइनको बा४च ८१६ नंको मारुती भ्यानमा आगजनी गरेको हो । उम्मेदवार राइनको आफ्नै घर मझौलिया गाविसको अरङ्गमा राखिएको गाडीमा आगजनी गर्दा पूर्ण रुपमा जलेको सोही पार्टीका क्षेत्र नं ६ का उम्मेदवार प्रदीप मण्डलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“गाडी जलाउने समूहले तीन चार हवाई फायरसमेत ग-यो, त्यसपछि घरबाट डरले कोही निस्केनन्, उनीहरु कता भागे, त्यो पनि थाहा भएन ।”
गाडीमा आगजनी र हवाई फायर गर्ने उक्त समूहको पहिचान गर्न नसके पनि एकीकृत नेकपा माओवादीको कार्यकर्ता हुन सक्ने उम्मेदवार मण्डलको आरोप छ । क्षेत्र नं ६ मा आफ्नो पक्षमा वातावरण बन्न लाग्दा एमाओवादीले आक्रोशमा आएर गाडीमा आगजनी गरेको हुन सक्ने उहाँले जिकिर गर्नुभयो ।
घटना भएको एक घन्टा बढी बितिसक्दा पनि प्रहरी प्रशासन घटनास्थल नपुगेको उम्मेदवार मण्डलले गुनासो गर्नुभयो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले गाडी जले पनि कसले आगो लगाएको विषयमा केही खुल्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो–“ घटनाको अनुसन्धान हुँदैछ ।”
नेपाली सेनाद्वारा बम निष्क्रिय
कञ्चनपुर। एकीकृत नेकपा माओवादीको मेची महाकाली जनजागरण अभियानको सभा हुने स्थल नजिकै अज्ञात समूहले राखेको बम आज बिहान नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । कृष्णपुरको कञ्चन बहुमुखी क्याम्पस परिसरमा सुतली बम फेला परेपछि प्रहरीले बम निष्क्रिय पार्न नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । तत्कालै पुगेको सेनाको टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
बम फेला परेको १ सय मिटर नजिकै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलगायतले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम स्थलमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बन्दको कारण दाहसंस्कारमा प्रभावित
रसुवा । बन्दका कारण यातायात नचलेपछि यहाँका एक राष्ट्रसेवकका पिताको दाहसंस्कार गर्न र काजक्रियामा बस्न समस्या भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवामा कार्यरत कार्यालय सहयोगी बिमलेसकुमार सिंहको पिताको गएराति महोत्तरीमा मृत्युको खबर आए पनि बन्दका कारण यहाँबाट जान यातायात पाउन नसकेपछि दाहसंस्कार र क्रिया बस्न समस्या आएको बताइएको छ ।
0 comments
Write Down Your Responses