आज तिहारको अन्तिम दिन, भाइटीका,११ बजेर २७ मिनेटमा उत्तम साइत

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौ, कात्तिक १९ – आज यम पञ्चक अन्तर्गत तिहारको अन्तिम दिन देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवं दीर्घायुको कामनाका साथ भाइटीका लगाईदैछ ।



दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिंदा धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पूजागरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने मखमली, सयपत्री र दुबोको माल लगाइदिएर लामो आयुको कामना गर्ने गर्छन् ।

यस वर्षको भाइटीकाको शुभ साइत बिहान ११ बजेर २७ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । साइतमा टीका लगाउन नभ्याउनेहरुले आज दिनभरी नै टीका लगाउन सक्ने छन् । साइतमा टीका लगाउन नपाउनेले दिनभर टीका लगाउँदा पनि शुभ हुने समितिले बताएको छ ।

भाइटीकाको दिन आयु समाप्त भइसकेको आफ्ना भाइलाई यमराज सहित उनका दूतले लिन आउँदा दिदीले तेल नसुकुन्जेल र मखमलीको माला नओइलाउन्जेल नलैजान यमराजलाई बाचा गराएपछि भाइले दीर्घजीवन पाएको पौराणिक किंवदन्ती अनुसार आज दिदीबहिनीले दाजुभाइलाई मखमलीको माला लगाइदिने परम्परा छ ।

आज दिदीबहिनीले आफ्ना दाजु भाइलाई सात रंगका टीका लगाई सगुन, मिठाई, फलफुल, ओखर, कटुस र मसलाका साथै सेलरोटी खान दिने चलन छ । दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गर्छन् ।

दिदीबहिनी नभएका दाजुभाइले तुलसीको डाँठले आफैं टीका लगाउने चलन छ भने कसैकसैले धर्मदिदी बहिनीबाट पनि टीका लगाउने गर्छन् । यस्तै नेवार समुदायले किजापूजाका नामले भाइटीका मनाउँछन् भने मैथिली र भोजपुरी समाजमा भरद्वीतियाका नाममा भाइटीका मनाउने गरिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses