१८ दिनको छोरा काखमा च्यापेर जाडोमा काम्दै सुत्केरी प्रहरीको शरणमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रहरी कार्यालयमा न्याय माग्न आएकी सुत्केरी महिला। तस्बिर : अमर खड्का
इटहरी- ‘सर नमस्कार! म सुत्केरी, मलाई पोसिलो खानेकुरा र रेखदेख गर्ने व्यवस्था मिलाई दिनुहोस्, ठूलो न्याय हुनेछ,' १८ दिनको छोरा काखमा च्यापेर जाडोमा काम्दै शनिबार दिउँसो इलाका प्रहरी कार्यालय इटहरीमा एक महिला आइपुगिन्।
उनी मोरङ केरावारी–४ की २५ वर्षीया तुलसा आचार्य थिइन्। टिठलाग्दो अवस्थामा प्रहरीसमक्ष न्याय माग्न आइपुगेकी उनलाई हत्तपत्त प्रहरी टोलीले पोसिलो खानेकुरा मगाएर खुवायो। ज्वानोको झोल पिलायो। महिला प्रहरीले उनका नवजात शिशुलाई तेल लगाएर मालिस पनि गरिदिए।
त्यसपछि सुरु भयो, तुलासामाथि भएको अन्यायको अनुसन्धान।
लेटाङ माइती भएकी तुलासा घरपरिवारका सदस्यको विभेद खेप्न नसकेपछि छोरा च्यापेर प्रहरी कार्यालय आइपुगेको प्रारम्भिक जाँचबुझबाट देखिएको छ। प्रहरीले तुलसाका श्रीमान छविराम आचार्यले बेलाबेला कुटपिट गर्ने र परिवारका अन्य सदस्यले समेत चासो नदिएर विभेद गरेको ठहर गरेको छ।
'सबैले हेला गरेपछि घर छाडेर हिँडेँ,' आइतबार दिउँसो छोरालाई घाम तपाएर न्यानो दिइरहेको अवस्थामा भेटिएकी उनले नागरिकसँग भनिन्, 'सुत्केरी अवस्थामा आफन्तकहाँ जान अप्ठेरो लाग्यो, प्रहरीले त न्याय दिन्छन् भनेर सोझै यहीँ आएँ।'
घरबाट निस्किएर गाडी चढेपछि मोरङ खोर्सानेमा ओर्लिएर कता जाउँ, के गरुँ भनेर अलमल परेको उनले बताइन्। 'केही बेर चोकमा बसेपछि पश्चिम लाग्ने गाडीमा चढेर इटहरी आएँ,' उनले भनिन्।
तुलासाको चार वर्षअघि मागी बिहे भएको थियो। उनको पहिलो छोरा नोवेल चार वर्षका छन्। ‘राम्रो ढंगले बिहे भए पनि दिदीलाई भिनाजुले बेलाबेला कुटपिट गर्ने अनि कहिल्यै राम्रो नगर्ने हुदाँ दिदीले न्याय पाउनुपर्योे,' तुलासाका भाइ रुपेश दाहालले भने।
प्रहरीले तुलासाका ससुरा मोहन आचार्यलाई टेलिफोन सम्पर्क गरी डाकेको जनाएको छ। ‘ससुरालाई झिकाइसकेका छौं, उनी आएपछि सहमति गराएर घर फर्काउनेछौं,' इटहरीका डिएसपी विद्यानन्द माझीले भने।
साभार : नागरिक न्युज बाट 

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses