हमालको बिहे फागुनमा!
काठमाडौं– एक वर्षदेखि यो सालको माघमा बिहे गर्ने उद्घोष गरेका अभिनेता राजेश हमालले बिहेलाई फेरि एक महिना पर सारेका छन्। राजधानीमा मंगलबार एक एल्बम विमोचनमा उपस्थित भएका उनले विविध कारणले विवाह मिति पर सरेको जानकारी गराए।

'मधुको परिवारमा शोक परेकाले मिति एक महिना पर गएको हो। हामी आन्तरिक तयारीमा छौं। फागुन खेर जाँदैन,' हमालले भने। हमालले पहिले भनिआएझैं बिहेमा तामझाम नगर्ने योजना पनि दोहोर्याए। 'हामी दुवैको परिवार तामझाम नगर्ने कुरामा सहमत छौं। त्यसपछिका प्रक्रिया पनि त्यसरी नै चुपचाप पूरा हुन्छन्,' हमालले हनिमुन कहाँ मनाउने प्रश्नको समेत जावफ दिँदै भने। हमाल गायक तथा संगीतकार मेघराज मगरातीको एल्बम 'अनमोल सृष्टि'को विमोचनमा उपस्थित थिए।
मेघराज मगरातीको स्वर तथा संगीत रहेको एल्बम 'अनमोल सृष्टि'को विमोचन राजेश हमाल र संगीतकार सम्भुजित बास्कोटाले संयुक्त रुपमा गरे। कार्यक्रममा अडियो र भिडियो एल्बमको एक साथ विमोचन गरिएको थियो। अडियोका हरेक गीतको भिडियो समेत बनाएका मगरातीले एक भिडियोमा हमाललाई पनि अभिनय गराएका छन्।
हमालले भिडियोमा अभिनय गर्दाको अनुभव सुनाउँदै मगराती र आफ्नो 'वेभ लेन्थ' मिलेकाले अभिनय गर्दाको अनुभव रमाइलो भएको बताए। कार्यक्रममा संगीतकार बास्कोटाले पनि मगरातीको सफलताको कामना गरेका थिए।
पाँच गीत संग्रहित एल्बमलाई वर्ल्ड वाइड इन्टरटेनमेन्टले बजारमा ल्याएको हो। कार्यक्रममा एल्बम तथा भिडियोसँग सम्बद्ध व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो।
nagarik news
0 comments
Write Down Your Responses