पेरिसडाँडामा एमाओवादीको आकस्मिक बैठक
३० मंसिर, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्नुभन्दा केही घण्टा अगाडि एकीकृत नेकपा माओवादीले राजधानीमा उपलब्ध पूर्वपोलिटब्यूरो सदस्यहरुको आकस्मिक बैठक बोलाएको छ । उच्चस्तरीय राजनीतिक समितिको बैठक आज (आइतबार) बेलुका डाकिएको र त्योभन्दा पहिले आन्तरिक छलफल गर्ने भन्दै राजधानीमा उपलब्ध पूर्वपोलिटब्यूरो सदस्यहरुको आकस्मिक बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको एमाओवादीका एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।
निर्वाचनको धाँधलीबारे उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने माग गर्दै आएको एमाओवादीले आइतबार बेलुका बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा यसबारे कांग्रेस र एमालेलाई जवाफ दिनुपर्ने भएकाले बैठक बोलाइएको स्रोत बतायो । कांग्रेस र एमालेले संसदबाटै समिति बनाएर धाँधलीको छानविन गर्ने प्रस्ताव राखेका छन् । संघीयता, गणतन्त्र र धर्मरिपेक्षता लगायतका एजेन्डामा प्रतिवद्धता जनाउन कांग्रेस र एमालेका नेताहरु सहमत देखिएका छन् । यो अवस्थामा अकस्मात् डाकिएको एमाओवादी बैठकमा संसदीय छानविनको प्रक्रियालाई स्वीकार गर्ने/नगर्नेबारे छलफल गरिने स्रोतले बतायो ।
प्रचण्ड गठबन्धनमै रहेका सद्भावना पार्टी लगायतका केही दलले संविधानसभामा जाने बताएपछि एमाआवादीभित्र सहमतिमा आउन र संविधानसभामा भाग लिन चर्को दबाव परेको छ । एमाओवादीले उच्चस्तरीय आयोग नबनाएर समानुपातिक सूचीमा नाम नपठाउने अडान राख्दै आएको छ । यसैवीच समानुपातिक सूची नबुझाइए पनि निर्वाचन आयोगले पुस ३ गते म्याद थप नगरी राष्ट्रपतिसमक्ष सभासदको नाम पठाउने चर्चा चलेपछि यसबाट एमाओवादीलाई थप दबाव परेको हो ।
पूर्वपोलिटब्यूरो अघि कार्यालयको वैठक
यसअघि पेरिसडाँडा केन्द्रीय कार्यालयको बैठक बसेको थियो । बैठकले संविधानसभा निर्वाचनमा देखिएको संस्थागत, नीतिगत र संरचनागत धाँधलीको छानविन गर्न काँग्रेस-एमाले सहमत भए एकीकृत माओवादी संविधानसभामा जाने संकेत जनाएको छ । कार्यालयको वैठकले धाँधली छानविन गर्न दुई ठूला दल काँग्रेस-एमालेलगायतका दल सहमत भए संविधानसभामा सहभागी हुने निष्कर्ष निकालेको हो ।
वैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै एमाओवादी नेता पोष्टबहादुर बोगटीले निर्वाचनमा देखिएको संस्थागत, नीतिगत र संरचनागत धाँधलीको छानविन गर्न सहमत भए संविधानसभामा सहभागी हुने विषयमा छलफल भएको वताउनुभयो । उहाँले दिउँसो वस्ने उच्चस्तरिय राजनीतिक समितिको वैठकमा पार्टीका तर्फवाट पेश गर्ने एजेन्डाका विषयमा छलफल भएको वताउनुभयो । केन्द्रीय कार्यालयकगो वैठकले राजधानीमा उपलब्ध पूर्व पोलिटव्यूरो सदस्यको बैठक बोलाएको हो ।
0 comments
Write Down Your Responses