National News
»
वैद्यजीले मलाई मार्ने षड्यन्त्र गरिरहनुभएको छ : प्रचण्ड ( 'एम्बुसमा परेको भए मेरो मृत्यु हुन्थ्यो')
वैद्यजीले मलाई मार्ने षड्यन्त्र गरिरहनुभएको छ : प्रचण्ड ( 'एम्बुसमा परेको भए मेरो मृत्यु हुन्थ्यो')
२८ कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’ ले आफूलाई वैद्य माओवादीका नेताहरुले मार्ने षड्यन्त्र गरिरहेको बताउनुभएको छ । निर्वाचन सफल बनाउन र अग्रगामी परिवर्तनका लागि आफू मर्न तयार रहेको उहाँले बताउनुभएको छ । साथै संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले दुईतिहाइ बहुमत ल्याउने उहाँले बताउनुभएको छ । चुनाव चैत्रमा सारेको भए पनि वैद्य चुनावमा नआउने प्रचण्डले ठोकुवा गर्नुभएको छ ।
विहीबार बिहान अनलाइनखबरको मल्टिमिडिया पार्टनर एभिन्यूज टेलिभिजनसँगको विशेष अन्तरवार्तामा अध्यक्ष प्रचण्डले आफूलाई वैद्य माओवादीले मार्ने षड्यन्त्र गरेको बताउनुभएको हो । ‘वैद्यजीहरुले मलाई मार्ने षड्यन्त्र गरिरहनुभएको छ । ममाथि कन्चनपुरमा भएको हमला मलाई मार्नैका लागि गरिएको हो ।’ प्रचण्डले भन्नुभयो, ‘मलाई मार्नका लागि कन्चपुरमा थापेको एम्बुसमा म चढेको गाडी परेको भए म अहिले यहाँ हुन्न थिएँ ।’
कञ्चनपुरको बेलौरीमा बुधबार प्रचण्डलाई लक्षित गरी अज्ञात समूहले उहाँ चढेको गाडीभन्दा २ सय मिटर टाढाको दुरीमा गराएको माइन बिस्फोटनलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘देशभरि चुनावी माहोल बनाएर जनयुद्धमा हामीले उठाएका मुद्दा स्थापित गर्न लागेको मान्छेलाई माओवादीले मारेर देशलाई ध्वस्त पार्न खोज्दैछन्, उहाँले भन्नुभयो, एम्बुसमा परेको भए मेरो मृत्यु हुन्थ्यो ।’
एक महिनादेखि देशभरि चुनावी अभियानमा रहेको बताउँदै अध्यक्ष प्रचण्डले आफू जहाँ गए पनि बन्दका कार्यक्रम राखेर वैद्य माओवादीले जनताको सार्वभौम अधिकारमाथि हमला गरेको बताउनुभयो । ‘पहिचान र अधिकारको कुरा गर्नेमाथि आक्रमण गरेर वैद्यजीहरुले गल्ती गुर्नभयो । घोर दक्षिणपन्थी र बैद्य माओवादीबीच फरक देखिएन ।’ हिजो पनि जीवन हत्केलामा राखेर हिंडेको बताउँदै अध्यक्ष प्रचण्डले अहिले पनि म राष्ट्रका लागि ज्यान दिन तयार रहेको बताउनुभयो ।
दुई तिहाइ जित्ने दाबी
’दश वर्षसम्म लडाइँ गरेर एमाओवादीले संघीयता र गणतन्त्र ल्याएकाले सोही आधारमा योपटक हामीले दुईतिहाइ बहुमत ल्याउँछौं’, प्रचण्डले भन्नुभयो, ‘मुद्दा र अहिलेको परिवर्तनको आधारमा नेपाली मंसिर ४ को चुनावमा एमाओवादीले प्रत्यक्षतर्फ १ सय ६८ सिट ल्याउने पक्का छ ।’ एभिन्यूजसँगको कुराकानीमा प्रचण्डले एमाओवादीले पूर्ण बहुमत ल्याई सरकारको नेतृत्व गरेर जनपक्षीय संविधान बनाउने दाबी गर्नुभयो । गिरिजाप्रसाद कोइरालापछि जनतामाझमा आफू नै सबैभन्दा स्थापित नेता भएको बताउँदै उहाँले सोही आधारमा आफू राष्ट्रिय नेता भएको दाबी गर्नुभयो ।
’देशलाई आर्थिक राजनीतिक हिसाबमा समृद्ध बनाउन जसको नीति, उसको नेतृत्व आवश्यक भएकाले मलाई जनताले राष्ट्रिय नेता बनाएका हुन्,प्रचण्डले भन्नुभयो, ‘एमाओवादीको पक्षमा चुनावी लहर आएकाले एमाओवादीले बहुमत ल्याएर जननिर्वाचित राष्ट्रपतिसहितको शासन प्रणाली आउने छ ।’ एमाओवादीले चलाएको एकहप्ते मेची महाकाली अभियानले देशभरि चुनावी माहोल ल्याएको दावी गर्दै प्रचण्डले मंसिर ४ को चुनावपछि उग्रवामपन्थी र दक्षिणपन्थीहरुलाई जनताले बढार्ने दाबी गर्नुभयो । ‘यो संसदीय निर्वाचन होइन, सरकार चलाएको आधारमा भन्दा जनताका मुद्दाको आधारमा योपटक एमाओवादी पहिलो पार्टी हुँदैछ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ठूलो पार्टी एमाओवादी नै हो भन्ने कुरामा कुनै विवाद छैन, यो पटक दुई तिहाई बहुमतको रेकर्ड बन्छ ।’
चैत्रमा चुनाव सारे पनि वैद्य आउँदैनथे
वैद्य माओवादी चुनाव नआउने पार्टी भएकाले चैतमा चुनाव सार्नुको कुनै तुक नभएको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘चैतमा चुनाव सारे पनि वहाँहरु चुनाव आउनुहुन्नथ्यो । प्रधानन्यायाधीशको राजिनामाको कुरा छोडेर चुनावमा आउनुस् भनेको मान्नुभएन’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘बैद्यजीहरुलाई अब जनताले बहिष्कार गर्न थालिसकेका छन् । अहिलेकै गतिविधि जारी राखे वहाँहरु जनताको नजरबाट हराएर जाने पक्का छ ।’
0 comments
Write Down Your Responses