काठमाडौंमा माधव नेपाल आक्रामक, लीलामणि रक्षात्मक (भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२४ कात्तिक, काठमाडौं । अघिल्लो संविधानसभामा काठमाडौं-२ बाट अपत्याशित रुपमा पराजय व्यहोर्नुभएका एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यसपालि आफ्नो चुनाव क्षेत्रमा आक्रामक देखिनुभएको छ भने पहिलो संविधानसभामा विजय हासिल गरेको दल नेकपा एमाओवादीका उम्मेद्वार लीलामणि पोख्रेल रक्षात्मक अवस्थामा पुग्नुभएको छ ।काठमाडौं क्षेत्र नं २ को अवस्था बुझ्न अनलाइनखबरको टोली स्थलगत भ्रमणमा नस्किँदा मतदाताहरुले पूर्वसभासद झक्कु सुवेदीप्रति तिव्र असन्तुष्टि व्यक्त गरे ।



उता एमाले कार्यकर्ताले भने उत्साही हुँदै यसपटक ५/६ हजारको मतान्तरले चुनाव जितिने दाबी गरे । यसपालि काठमाडौं २ मा आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेस रहेको बताउँदै एमाओवादीका लीलामणि पोख्रेल तेस्रो स्थानमा झर्ने एमाले कार्यकर्ताले दाबी गरे । एमाओवादीका कार्यकर्ताले भने आफ्नो प्रतिस्पर्धी कांग्रेस उम्मेद्वार प्रतिमा गौतमसँग नभएर माधव नेपाल नै हुने बताए । यद्यपि एमाओवादी कार्यकर्ताहरु लीलामणिले चुनाव जित्नेमा आफैं पनि ढुक्क देखिएनन् ।

के भन्छन् एमाओवादी कार्यकर्ता ?

काठमाडौं वडा नं ३५ स्थित पाल्पाकोट बुथ कमिटीका एमाओवादी कार्यकर्ता बसन्त केसीले पूर्वसभासद झक्कुप्रसाद सुवेदी आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नआएको मतदाताहरुले गुनासो गर्ने गरेको अनलाइनखबरलाई बताउनुभयो । ‘उहाँहरुले तपाईहरु यसपालि तेस्रो स्थानमा आउनुहुन्छ भनिरहनुभएको छ, माया गरेको भनेको होला भन्दै हामी यसलाई शिक्षाका रुपमा लिएर चुनाव जित्ने प्रयासमा लागेका छौं ।

नेपाली कांग्रेस छाडेर भर्खरै एमाओवादीमा प्रवेश गर्नुभएका गोठाटारका रवि गौतम लीलामणि पोखरेलको प्रचार शैलीप्रति सन्तुष्ट देखिनुहुन्न । जहाँ जाँदा पनि मतदाताले पहिले जिताएका पूर्वसभासद एकपटक पनि फर्केर नआएको गुनासो सुनाउने गरेको र त्यही कारणले गर्दा विद्वान र राम्रा उम्मेद्वार पोख्रेललाई अप्ठ्यारो परिरहेको गौतम गुनासो गर्नुहुन्छ । साथै माधव नेपालले टोलटोलमा पुगेर यस्तो विकास गर्छु र उस्तो गर्छु भन्दै आश्वासन बाँड्ने गरेको तर लीलामणि पोखरेलले यस्ता विषयमा नबाल्ने गरेको गौतम बताउनुहुन्छ ।

झक्कु सुवेदी शुरुमा काठमाडौं २ मा नआएर प्रचण्डको छोरीको क्षेत्रमा प्रचारमा हिँडेको तर काठमाडौं २ का मतदाताले भने लीलामणिलाई झक्कु खोई भनेर सोध्ने गरेकाले माहौल बिगि्रएको एमाओवाद किार्यकर्ताले अनलानखबरलाई बताए । ‘उहाँ १० नम्बरतिर भोट माग्न हिँड्नुभएको सुनिन्थ्यो, मतदाताले हामीलाई झक्कुबारे सोधेर हैरान पार्थे, केही दिन यताचाहिँ झक्कु पनि २ नम्बर क्षेत्रतिर देखिन थाल्नुभएको छ ।’ एमाओवादी कार्यकर्ताले भने ।

पाल्पाकोट बुथ कमिटीको कार्यालयमै विहान ११ बजेतिरै टन्न लोकल रक्सी खाएर मातेको अवस्थामा भेटिएका एक युवा प्रकाश श्रेष्ठले चाहिँ अनलाइनखबरको टोलीसँग भन्नुभयो- ‘मतदाता नामावलीमा फोटो नभएकाले भोट दिन पाइन्छ कि पाइँदैन ? विदेश गएर आएकाहरुले फोटो खिच्न पाएका छैनन्, यस्ताले भोट दिन पाइन्छ कि पाइँदैन, म पनि यस्तै पीडित हुँ ।’ माधवकुमार नेपालको घरभन्दा केही माथिपट्टकिो डाँडामा खोलिएको एमाओवादी प्रचार कार्यालयमा भेटिनुभयो एमाओवादीका गोठाटार गाउँ कमिटी अध्यक्ष भोला चापागाईं । उहाँले काठमाडौं २ नम्बर क्षेत्र अन्तरगत डाँछी, नाङ्लेभारे, सुनाटोल, लप्सीफेदीलगायतका गाविसहहरुमा पार्टीको प्रभाव पहिलेको भन्दा कमजोर बनेको बताउनुभयो । तर, नगरपालिकाभित्रका ९ नम्बर र ३५ नं वडाका साथै गोठाटारमा पहिलेको भन्दा स्थिति सुधि्रएको दाबी गर्नुभयो । चापागाईले महानगरपालिकामा स्थिति सुध्रेको बताए पनि काठमाडौं ३५ अन्तरगत नरेफाँट क्षेत्रमा माधव नेपालको मात्रै एकछत्र प्रचार देखिएको थियो । आचारसंहिताको समेत वास्ता नगरी बाटैभरि तोरण टाँगेर माधव नेपालको तस्वीर र सूर्य चिन्ह झुण्ड्याइएको भेटियो भने लीलामणिको पम्प्लेट फाट्टफुट्ट मात्रै भेटिए ।

माधवले जित्नेमा एमाले कार्यकर्ता ढुक्क

यसपालि काठमाडौं २ मा माधव नेपालले भारी मतान्तरले चुनाव जित्नेमा एमाले कार्यकर्ताहरु भने ढुक्क देखिए । कोटेश्वरस्थित माधव नेपालको प्रचार कार्यालयमा भेटिएका सुरेश निरौलाले भन्नुभयो- यो क्षेत्र ०४८ सालदेखि नै एमालेको गढ हो । ०६४ सालमा हामीले हेलचेक्रयाइँ गर्नाले थोरै मतान्तरले चुनाव हारिएको हो, तर यसपालि ५/६ हजार मतान्तरले हामी चुनाव जित्दैछौं । काठमाडौं २ मा लीलामणि पोख्रेलसँग एमालेको प्रतिस्पर्धा नहुने भन्दै निरौलाले माधव नेपालको प्रतिस्पर्धी कांग्रेसको प्रतिमा गौतम रहेको बताउनुभयो ।

झक्कु सुवेदीका मतदाता के भन्छन् ?

पेप्सीकोलामा हामीले केही मतदातालाई सोध्दा उनीहरुले यसअघि एमाओवादीका झक्कुप्रसाद सुवेदीलाई मतदान गरेको तर, उहाँ फर्केर एकपटक पनि नआएको भन्दै यसपालि माधव नेपाललाई मतदान गर्ने खुलेर बताए । पेप्सीकोलामा भेटिएमा अनिल र राजेन्द्र श्रेष्ठले पहिले झक्कुलाई भोट दिएको तर यसपालि माधव नेपाललाई दिने बताउनुभयो । आँगनमा लसुन पोको पारिरहनुभएका किसान अष्टबहादुर श्रेष्ठले अघिल्लो चुनावमा परिवारले एमाओवादी र एमालेलाई बाँडेर भोट हालेको तर यसपालि घर सल्लाह गर्न बाँकी रहेको बताउनुभयो । कसलाई भोट हाल्नुहुन्छ भन्ने प्रश्नमा उहाँले उल्टै अनलाइनखबरलाई प्रश्न गर्नुभयो- ‘कसलाई भोट दिँदा ठीक होला ? तपाई नै बताइदिनोस् न ।’

आचारसंहिता उल्लंघनमा पनि माधव नै अगाडि

काठमाडौं २ भनेको राजधानीको चुनाव क्षेत्र, त्यसमा पनि पूर्वप्रधानमन्त्री तथा भावी प्रधानमन्त्री उठेको क्षेत्र । तर, यो क्षत्रेमा निर्वाचन आचार संहिताविपरीत सडकै ढाकेर तोरन टाँग्ने र पोष्टर टाँस्ने कार्यमा माधव नेपाल लगाडि देखिनुभएको छ । विशेषगरी कोटेश्वर आसपासको नरेफाँट क्षेत्रमा प्रवेश गर्दा यस्तो देखिन्छ कि त्यहाँ कुनै विवाह समारोह भैरहेको छ । पूर्व प्रधानमन्त्रीले नै यसरी नियम मिच्न मिल्छ ? यस्तो प्रश्न गर्दा एमाले कार्यकर्ता सुरेश निरौलाले आफूहरुले आचारसंहिता उल्लंघन नगरेको, हेलिकोप्टर नचढेको प्रतिक्रिया दिनुभयो । पाल्पाकोट बुथ कार्यालयका एमाओवादी कार्यकर्ता बसन्त केसीले आफ्नो कार्यालय वरिपरि तोरण टाँग्नुको कारण सोध्दा एमालेले टाँगेको देखेर आफूहरुले पनि सिको गरेको बताउनुभयो ।

उता बज्र योगिनीमा एमाओवादी कार्यकर्ताले वाइसिएल क्याम्प खडा गरेको एमाले कार्यकर्ताको आरोप छ । तर, यसबारे सोध्दा एमाओवादी नेता भोला चापागाईले भन्नुभयो, ‘यो आरोप गलत हो, हामीले कतै क्याम्प खडा गरेका छैनौं ।’ लीलामणिको निर्वाचन क्षेत्रअन्तरगत पर्ने काठमाडौं ९ मा ०६४ को चुनावमा झक्कुलाई जिताउन अहोरात्र खट्ने पुरानो बानेश्वरका धनबहादुर पन्त यतिबेला वैद्य माओवादीको राज्य समिति सदस्य हुनुहुन्छ । पन्तसँग बरु माधव नेपालले भोट माग्न भ्याउनुभएको छ तर, एमाओवादी कार्यकर्ताले अहिलेसम्म मत मागेका छैनन् । काठमाडौं क्षेत्र नं. २ अन्तरगत पुरानो बानेश्वर, नाङ्लेभारे, सुनाटोलमा वैद्य माओवादी बलियो छ । पार्टी फुटको प्रभाव डाँछी, लप्सीफेदी मूलपानी र गोठाटार गाविसमा पनि देखिएको छ ।

झक्कुले बनाएको फोहोर पोखरेललाई जिम्मा

एमाओवादी उम्मेद्वार लीलामणि पोख्रेल व्यक्तिगतरुपमा असल र इमान्दार नेता मानिनुहुन्छ । वौद्धिकता र वाक क्षमतामा पनि उहाँलाई विगतमा मदन भण्डारीसँग तुलना गरिन्थ्यो । ०४८ सालको प्रतिनिधिसभामा उहाँले ललितपुरबाट विजयी भई कृष्णबहादुर महरासँगै संयुक्त जनमोर्चाका नौ सांसदको प्रतिनिधित्व गर्नुभएको थियो । त्यसबेला संसदमा पोखरेलले खेलेको भूमिका सह्रानीय थियो । टनकपुर सहमतिविरोधी राष्ट्रियताको आन्दोलनमा पोखरेलको भूमिका उदाहरणीय थियो ।

तर, ०६४ को चुनावमा एमाओवादीकै कार्यकर्ताले प्रचण्डको आदेशलाई उल्लंघन गर्दै धोका दिएर सिन्धुलीमा पोखरेललाई पराजीत गरे । पोखरेललाई हराउने निरु दर्लामी यतिबेला वैद्य माओवादीमा हुनुहुन्छ । संसदीय राजनीतिमा प्रभावकारी मूभिका खेल्न सक्ने पोखरेलजस्ता राम्रा नेतालाई माधव नेपालसँग भिडाएर एमाओवादीले झक्कु सुवेदीलाई चाहिँ समानुपातिकमा राखेको छ । झक्कुकै बद्नामीको भारी बोकेर यसपालि लीलामणिले पराजय ब्यहोर्नुपर्ने अवस्था देखिएको छ, तर काठमाडौं २ का मतदाताले एमाओवादीलाई मत नदिए पनि झक्कु सभासद बन्ने लगभग पक्का छ, जसरी विगतमा काठमाडौं २ का जनताले बहुमत नदिए पनि माधव नेपाल सभासद, संवैधानिक समितिको सभापति र प्रधानमन्त्रीसम्म बन्नुभयो । दोस्रो संविधानसभामा ल्हारक्याल लामा सभासद बन्ने र लीलामणि पोखरेलजस्ता नेता दोस्रोपटक सडकछाप बन्ने सम्भावना प्रवल बनेको छ काठमाडौं २ मा । त्यसो त कात्तिक २९ गते कोटेश्वरको महादेवस्थानमा प्रचण्ड लागायतका शीर्ष नेताको उपस्थितिमा सभा गर्ने र त्यसले लीलामणि पोखरेलको पक्षमा माहौल ल्याउने एमाओवादी नेताहरुको तर्क छ ।onlinekhabar

भिडियो हेर्नुस् :

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses