गगन, पासाङ र कुइँकेललाई पछ्याउँदै हिँड्दा... (भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२८ कात्तिक, काठमाडौं । अनलाइनखबरको टोली एकाविहानै काठमाडौं क्षेत्र नम्बर ४ का विभिन्न स्थानमा पुग्दा एमाले उम्मेद्वार निर्मल कुइँकेल, कांग्रेसका गगन थापा र एमाओवादीका नन्दकिशोर पुन (पासाङ) दलबलका साथ घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । कपनको आकाशेधारामा चर्चित अधिवक्ता वालकृष्ण न्यौपाने तीन दलका नेतालाई सराप्दै राप्रपा नेपालका तर्फबाट भाषण ठोकिरहनुभएको थियो । एमाले र एमाओवादीको माइकिङ गर्ने कार्यकर्ता पनि कोणसभाको छेवैमा भेटिन्थे, तर आपसी समझदारी राम्रो थियो, आपसमा भिडन्त र झडप देखिएन ।

चुनाव उसै पनि रमाइलो जात्राजस्तो भएको छ । चाडबाड र उत्सवजस्तो बनेर आएको चुनावमा जुन चोकमा गयो, त्यतै भाषण र घरलौरी द्यौसीजस्तो दृश्य देख्न पाइन्छ । आकासेधारामा हामीले पनि एकैछिन टनकपुरको मुद्दा उठाउने न्यौपाने वकील सा'पको भाषण सुन्यौं । उहाँ कालोकोट धड्काएर २०/३० जना दर्शकका सामु भन्दै हुनुहुन्थ्यो- 'नेपालका वामपन्थीहरु चीनका माओको हैन, भारतका रावको पछि लाग्न थाले । नेपालका राजा हटाएर भारतका फेटा बाँधेकालाई राजा मान्न थाले, सोनिया गान्धीलाई रानी मानेर दिल्लीतिर धाउन थाले ।'



काठमाडौं ४ को भूगोल र मतदाता

काठमाडौं क्षेत्र नं ४ मा तीनवटा गाविस र महानगरपालिकाका ४ वटा वडाहरु रहेका छन् । कपन, चुनीखेल, महांकाल र चपलीभद्रकाली गाविसका साथै महानगरपालिकाका १, ७, ८ र ३३ नं वडाहरु काठमाडौं क्षेत्र नं ४ अन्तरगत पर्दछन् । यस क्षेत्रको कूल मतदाता संख्या ५६ हजार ८ सय ७७ रहेको छ । ०६४ को चुनावमा यस क्षेत्रमा ६२ हजार ८ सय २९ मतदाता थिए । दोस्रो संविधानसभामा यस क्षेत्रमा ५ हजार ९ सय ५२ जना मतदाता घटेका छन् ।

मुख्य प्रतिस्पर्धी को-को हुन् ?

यसपालिको चुनावमा काठमाडौं ४ बाट कांग्रेसका गगन थापा, एमाओवादीका नन्दकिशोर पुन (पासाङ) र एमालेका निर्मल कुइँकेलवीच तीव्र प्रतिस्पर्धा हुँदैछ । गगन थापा कांग्रेसका चर्चित युवा नेता हुनुहुन्छ भने पासाङ एमाओवादीका पूर्वलडाकू कमान्डरसमेत भएकाले काठमाडौं ४ को चुनावी नतिजा कांग्रेस र एमाओवादी दुबैका लागि महत्वपूर्ण प्रतिष्ठाको विषय मानिएको छ । त्यस्तै नेकपा एमालेका उम्मेद्वार निर्मल कुइँकेल कपन क्षेत्रका जमेका स्थानीयवासी भएकाले गगन र पासाङ दुबैका लागि चुनौतीको पहाड बन्नु पुग्नुभएको छ । कांग्रेस र एमाओवादी वीचको प्रतिश्पर्धाको वीचबाट फुत्त चुनाव जितेर निस्कने दाऊमा एमाले उम्मेद्वार रहेका छन् ।



काठमाडौं ४ बाट ०६४ सालमा प्रत्यक्ष निर्वाचन जित्ने कांग्रेस नेतृ सुप्रभा घिमिरेले गगनविरुद्ध बागी उम्मेदवारी दिनुभएकाले काठमाडौं ४ को चुनावमा अर्को रौनक थपिएको छ । कोही भन्छन्, सुप्रभाले हजार/१५ सय भोट काट्दैमा गगनलाई अप्ठ्यारो हुँदैन । कोही भन्छन्, एकहार भोटको समेत महत्व हुने भएकाले सुप्रभाको उम्मेद्वारीले गगनलाई अप्ठ्यारो पार्न सक्छ ।

काठमाडौं ४ मा मुख्य प्रतिस्पर्धी को हुन् भन्नेमा पनि विवाद छ । एमाले उम्मेद्वार कुइँकेल आफ्नो प्रतिस्पर्धा गगनसँग हुने र पासाङ तेस्रो हुने दाबी गर्नुहुन्छ । एमाओवादी उम्मेद्वार पासाङ भने आफूले भारी मतले जित्ने र आफ्ना प्रतिपक्षीहरुले ज्यादै थोरै मत ल्याउने बताउनुहुन्छ । एमाओवादीको विश्लेषणमा गगन दोस्रो र निर्मल तेस्रो हुने भन्ने छ । कांग्रेस उम्मेद्वार थापाले भने आफू पहिलो हुने बताउनुभएको छ, दोस्रो वा तेस्रो को हुन्छ भन्ने कांग्रेसले खासै हिसाब गरेको पाइएन ।

साना दलको उपस्थिति

काठमाडौं ४ मा तीन ठूला दलबाहेक कमल थापा नेतृत्वको राप्रपा नेपालबाट चलचित्रकमी उद्धव पौडेलले उम्मद्वारी दिनुभएको छ । गोपीकृष्ण टेलीभिजनका सञ्चालकसमेत रहनुभएका पौडेलको गतिविधि पनि निकै तिब्र देखिएको छ । तर, उहाँ आफैंले वैचारिक प्रतिस्पर्धाका लागि उम्मेद्वारी दिएको जनाउनुभएको छ ।

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका तर्फबाट हाँक साप्ताहिकका सम्पादक/ प्रकाशक गोविन्दसिंह थापाले पनि काठमाडौं ४ बाट उम्मेद्वारी दिनुभएको छ । त्यसैगरी काठमाडौं ४ मा बागी सुप्रभा घिमिरे, राप्रपाका ठाकुरप्रसाद पौडेल र नेमकिपाबाट गणेशमाया डंगोलको पनि उम्मेद्वारी परेको छ ।

काठमाडौं ४ मा प्रायः सबै मधेसवादी दलले पनि उम्मेद्वारी दिएका छन् । फोरम लोकतान्त्रिकबाट किशोरकुमार गुरुङ, सद्भावना पार्टीबाट मञ्जु शर्मा, तमलोपाबाट हरिशरण आचार्य र फोरम नेपालबाट जानकी मानान्धरको उम्मेद्वारी परेको छ । चुनावमा साना दलहरुले हजार भन्दा कम भोट ल्याउने देखिए पनि उनीहरुको मतले ठूला दलको हारजीतमा थपघट गर्न सक्ने अवस्था छ । एमालेबाट फुटेको संघीय समाजवादीले हिरण्ड मानान्धरलाई उम्मेद्वार बनाएकाले एमालेको भोटमा केही तलमाथि गर्न सक्ने र जातीय भोट काट्न सक्ने अनुमान गरिएको छ ।

के भन्छन् उम्मेद्वार ?

काठमाडौं ४ मा यसपालि कसले जित्ला ? अनलाइनखबरको प्रश्नमा गगन थापा, पासाङ र कुइँकेल तीनैजना उम्मेद्वारले तर्कसहित जित्ने दाबी सुनाउनुभयो ।

तपाईले के आधारमा चुनाव जित्नुहुन्छ ? अनलाइनखबरले पासाङ, गगन र निर्मल तीनैजनालाई प्रश्न प्रश्न गरेको थियो । जवाफमा एमाले उम्मेद्वार कुइँकेलले जनताको बहुदलीय जनवाद मान्ने एमाले पार्टी नै संघीयताबारे सबैभन्दा स्पष्ट रहेकाले आफूले चुनाव जित्ने बताउनुभयो । एमाओवादी युद्ध गरेर आएको र कांग्रेसले भ्रष्टाचार गरेको भन्दै आफू स्थानीय भएकाले पनि स्थानीयवासीले जिताउने कुइँकेलले विश्वास व्यक्त गर्नुभयो ।

एमाओवादी उम्मेद्वार पासाङले जनताले परिवर्तनलाई रोज्ने भएकाले आफूलाई अत्यधीक बहुमतले जिताउने दाबी गर्नुभयो । आफूले अत्यधीक मत ल्याएर जित्ने निश्चित भैसकेको र विपक्षीले धेरै कम मत ल्याउने उहाँको दाबी छ ।

कांग्रेस उम्मेद्वार गगन थापाले आफूले चुनाव जितेर गएपछि कांग्रेसलाई जनताको पक्षमा काम गर्न झक्झक्याउने भदै यसका लागि जनताले आफूलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । चुनाव जितेपछि संविधानसभाबाट आउने भत्ता आफूले यही निर्वाचन क्षेत्रमा खर्च गर्ने र परिवामा खर्च नगर्ने थापाले अनलाइनखबरमार्फत घोषणासमेत गर्नुभयो ।onlinekhabar.com

भिडियो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses