कुन अञ्चलमा कुन पार्टी अगाडि ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

पहिलो संविधानसभा चुनावमा नेपाली कांग्रेस र एमालेले १४ अञ्चल मध्ये कुनैमा पनि बहुमत ल्याउन सकेनन् । एमाओवादीले राप्ती र कर्णाली अञ्चलमा शतप्रतिशत विजय हासिल गरेको थियो भने धौलागिरीमा एमाले र कांग्रेससँग बराबर बनेको थियो । मेची अञ्चलमा ०६४ सालमा एमाले र एमाओवादी बराबर बनेका थिए ।



कांग्रेस र एमालेले एउटै अञ्चलमा पनि बहुमत हासिल गर्न नसके पनि ३ वटा अञ्चलमा मधेसवादी दलले बहुमत पाएका थिए । मधेसी जनअधिकार फोरम, सद्भावना र तमलोपा समेतका मधेसवादी दलले ०६४ सालको चुनावमा सगरमाथा, जनकपुर र लुम्बिनी अञ्चलमा प्रमुख तीन दललाई जित्न सफल भएका थिए । अञ्चलगत आधारमा पहिलो संविधानसभाको चुनावको विश्लेषण गर्दा कांग्रेस एउटा अञ्चलमा एमाओवादीसँग बराबर भएको थियो भने एमाले एक स्थानमा बराबरीमा आएको थियो । बाँकी ९ अञ्चलमा एमाओवादी बहुमतमा आएको थियो ।

दोस्रो संविधानसभा चुनावमा एमाओवादीले राप्ती र कर्णालीमा पहिले जितेको शत प्रतिशत नतिजा कायम राख्नुपर्ने चुनौती छ । तर, राप्तीको दाङमा यसपालि केही सीट गुम्न सक्ने र प्युठानमा वामदेव गौतम लगायतको उम्मेद्वारी परेकाले यसपालि एमाओवादीले राप्तीमा आफ्नो वर्चश्व बचाइराख्न निकै मुस्किल पर्ने देखिन्छ । त्यसैगरी कर्णालीमा पनि विगतको शतप्रतिशत नतिजा कायम हुनेमा शंका उब्जाउने ठाउँ रहेको विश्लेषकहरु बताउँछन् । त्यस्तै सेती र महाकालीमा अत्यधिक बहुमत ल्याएको एमाओवादीले आफ्नो साख जोगाउनुपर्ने चुनौती छ । अखण्ड सुदुर पश्चिमको प्रभावका कारण महाकाली र सेतीको सीट घट्न सक्ने स्वयं एमाओवादीकै नेताहरुले स्वीकार्दै आएका छन् ।

कुल २६ सीट रहेको लुम्बिनी अञ्चलमा ९ सीट जितेर मधेसवादीले बहुमत हासिल गरेका थिए भने ७ सीट जितेर एमाओवादी दोस्रो शक्ति बनेको थियो । लुम्बिनीमा एमाले र कांग्रेसले पनि ५/५ सीटको उपस्थिति जनाएर झण्डै एमाओवादीकै हाराहारीमा आफूलाई उभ्याउने प्रयास गरेका थिए । यसपालि एमाओवादीले डा. बाबुराम भट्टराईलाई रुपन्देहीमा उम्मेद्वार बनाएर समग्र लुम्बिनीमा प्रभाव विस्तार गर्ने रणनीति बनाएको छ ।

जम्माजम्मी ७ सीटमात्रै रहेको धौलागिरीमा यसअघि एमाओवादीले राम्रो नतिजा हासिल गर्न सकेको थिएन । यो अञ्चलमा एमाओवादी, कांग्रेस र एमालेको दुई/दुई सीट आएको थियो भने राष्ट्रिय जनमोर्चाले १ सीट जितेको थियो । गण्डकी, वागमती र नारायणीमा एमाओवादीको बहुमत आएको थियो । कोशीमा एमाओवादीकै बहुमत आए पनि जनकपुर र सगरमाथामा मधेसी दलले एमाओवादीलाई जित्न सफल भएका थिए ।

यसपालि सिरहाबाट प्रचण्ड र मोरङबाट वर्षमान पुन अनन्तले उम्मेद्वारी दिएर कोशी र सगरमाथाको साख जोगाउने र सीट समेत बढाउने रणनीति बनाएको देखिन्छ । तर, एमाले, कांग्रेसका नेताहरुले भने कोशी, सगरमाथा र जनकपुरमा पनि एमाओवादीको अग्रता तोडिने बताउँदै आएका छन् । यद्यपि मधेसवादी दलमा आएको विखण्डनको फाइदा उठाउँदै यी अञ्चलहरुमा पहिलेको भन्दा बढी सीट ल्याउने दाबी एमाओवादी नेताहरुको छ ।

जम्मा १४ सीट रहेको मेचीमा पहिलो संविधानसमा एमालेसँग बराबरी बनेको एमाओवादी यसपालि ठूलो दल हुन्छ या दोस्रोमा र्झछ, अहिल्यै बताइहाल्न सकिँदैन । १४ मध्ये ५/५ सीट एमाले र एमाओवादी लगेकेा मेची अञ्चलमा ४ सीट हात पारेर नेपाली कांग्रेस पनि त्रिपक्षीय प्रतिस्पर्धामै तर, यसपालिको चुनावमा मेची अञ्चलको यस्तो सन्तुलन फेरिने धेरैले अनुमान गरेका छन् ।

- अनलाइनखबर

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses