भरत कोइराला
अर्मला (कास्की) : कास्कीको अर्मलास्थित ठूलिबेशी फाँटमा जमिन भासिंदा ५० भन्दा बढी घर जोखिममा परेका छन्। शुक्रबारसम्म १० भन्दा बढी परिवार विस्थापित भएका छन्।
अर्मला (कास्की) : कास्कीको अर्मलास्थित ठूलिबेशी फाँटमा जमिन भासिंदा ५० भन्दा बढी घर जोखिममा परेका छन्। शुक्रबारसम्म १० भन्दा बढी परिवार विस्थापित भएका छन्।
हिउँदको समयमा एकाएक जमिन भासिएपछि अर्मला १ को जोगीमणिभन्दा तलको बस्ती खतरामा परेको छ।
गएको कात्तिक २६ गतेबाटै जमिनमा ससाना खाडल र प्वाल देखिन थाले पनि स्थानीय बासिन्दाले खासै वास्ता गरेका थिएनन् । बुधबार दिउँसो एक्कासी खेतको बिचमा रहेको खाडल झन् भासिन थालेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
शुक्रबार दिउसो एक घरको कोठा नै भासिएको र अर्को घर छेउमा जमिन भासिएछि आफूहरु त्रसित भएको स्थानीय बासिन्दा धनराज आचार्यले बताए ।
स्थानीय बासिन्दा संकट टार्न भन्दै पूजाआजासमेत गर्न थालेका छन् । नजिकै नागको थान रहेको र नियमित नागको पूजा नगरेको भएर यो घटना भएको आशंकामा सबै मिलेर नागपूजा समेत गरेको आचार्यले बताए।
ग्याँस सिलिण्डर, चुलो, टेबल र भान्साका सामान समेत पुरिएको उनले बताए ।
टेकबहादुरको घरसँगै जोडिएको हिमलाल आचार्यको घरसमेत खतरामा परेको छ । स्थानीय बासिन्दा र सशस्त्र प्रहरीको सहयोगमा हिमलालको घरको आडमा परेको खाल्डो पुरिएको छ । तर खतरा भने कायमै रहेको स्थानीय बासिन्दा बताउँछन् ।
शुक्रबार साँझसम्म २५ भन्दा बढी स्थानमा जमिन भासिएको छ । ससना देखि २० वर्गमिटरसम्मका खाल्डा खेतका बीचमा देखिएका छन् । समाचारसंकलनका क्रममा पत्रकार अर्मला पुगेपछि पनि तीनस्थामा भासिएको थियो । जमिन भासिएको स्थानमा पानी रसाएर ताल परेको छ ।
गाउँ नजिकै कालीखोला बग्छ। सानो भएपनि खोलालाई प्राकृतिक रुपमा बग्न नदिएर सो स्थानमा खेती गर्न थालिएकाले जमिन भासिएको हुनसक्ने पृथ्वीनारायण क्याम्पस भूगोल विभागका उपप्राध्यापक रामजी पोखरेलले बताए । ‘पहिला खोला बगेको स्थान रहेकाले जमिनको आधार कमजोर छ’, उनले भने, ‘त्यसमा पनि कमेरो मिसिएकोले अझै ठूलो घटना हुन सक्छ।’
खेतको बीचबाट बगेको डुढेखोलाको आसपासमा यस्ता ठूला खाल्डाहरु परेका छन् । डुँढेखोलाबाट कालिखोलामा पानि मिसिएको स्थानमा अहिले कमरो मिसिएको धमिलो पानी निस्किरहेको छ ।
ठूलिवेशीमै खेत भएका रामप्रसाद पराजुली २० दिन अघिबाट सो स्थानमा धमिलो पानी देखिन थालेको बताए ।
शुक्रबार दिउँसो सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाईं, स्थानीय विकास अधिकारी इश्वरराज पौडेललगायतको टोली पनि अर्मला पुगेको थियो ।
उक्त टोलीले घटनास्थलको अवलोकन गरी गाविस सचिव रामचन्द्रं पौडेलालाई क्षति र बिस्थापितको लगत लिन निर्देशन दिएर फर्केको छ । गाविस सचिव पौडेलले निर्देशन अनुसार नै लगत तयार पारेको बताए । उनका अनुसार दुईवटा घर अति जोखिममा रहेको र १८ वटा घर जोखिममा छन्।
प्रशासन गम्भीर नभएको आरोप
स्थानीय बासिन्दाले ५० भन्दा बढी घर जोखिममा परेको तर स्थानीय प्रशासनले घटनालाई गम्भीर रुपमा नलिएको आरोप लगाएका छन्।
भासिएको स्थानलाई जोखिमस्थल घोषणा गर्ने, पीडितलाई राहत दिने, क्षति कम गर्नका लागि उपाय खोज्ने काम गर्नुको साटो सहायक प्रजिअ र स्थानीय विकास अधिकारी पीडितको दुख मात्र हेरेर फर्केको आरोप स्थानीय बासिन्दाले लगाए।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले आफूले घटनास्थलको अवलोकन गरेको र घटना सामान्य भएको प्रतिक्रिया दिए ।
आइतबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर राहतको बारेमा निर्णय गरिने प्रतिक्रिया उनले दिए ।
सहायक प्रजिअ र स्थानीय विकास अधिकारी फर्केपछि सशस्त्र प्रहरीको टोलीले स्थानीयलाई सचेत रहन माइकिङ गरेको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालासहितको टोलीले बिहीबार नै घटनास्थलमा पुगेर स्गलगत अनुगमन गरेको थियो ।
0 comments
Write Down Your Responses