इजिप्टमा मर्नेहरुको संख्या ५२५ पुग्यो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

कायरो– इजिप्ट प्रहरीले अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सी समर्थक प्रदर्शनकारीको धर्नामा बुधबार गरेको कारबाहीमा मारिनेको संख्या ५ सय २५ पुगेको छ। इजिप्टको स्वास्थ्य मन्त्रालयले मृतक संख्या ५ सय २५ पुगेको बिहीबार औपचारिक रुपमा जनाएको हो।



कायरो र एलेक्जान्ड्रियालगायत अरु सहरमा समेत भएको भिडन्तमा कम्तिमा ३५ सय प्रदर्शनकारी घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अझै कैयौं शवको गन्ति बाँकी नै भएकाले मृतक संख्या निकै बढ्न सक्ने अनुमान सञ्चारमाध्यमले गरेका छन् । गृहमन्त्री मोहमेद इब्राहिमले धर्नास्थलमा प्रदर्शनकारीसँग बुधबार भएको झडपमा ४३ प्रहरी मारिएको बिहीबार बताए। अपदस्थ राष्ट्रपति मुर्सीको दल मुस्लिम ब्रदरहुडले कम्तिमा २ हजार प्रदर्शनकारी मारिएको दाबी गरेको छ। कायरोस्थित प्रदर्शनकारीको मुख्य धर्नास्थल रब्बा–अल–अदाविया चोकनजिकको इमान मस्जिदमा कम्तिमा २ सय २८ शव कात्रो बेरेर राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सेनाले असार १९ गते राष्ट्रपति मुर्सीलाई अपदस्थ गरेपछि गठित अन्तरिम सरकारले धर्नास्थलमा कारबाही गरेपछि बुधबार संकटकाल घोषणा गरेको छ। अन्तरीम सरकारले संकटकालसँगै राजधानी कायरोलगायत १० प्रान्तमा बिहानदेखि बेलुकीसम्म कर्फ्यु लगाएको छ।

इजिप्टको गृह मन्त्रालयले सुरक्षा निकायले काहिरा पूर्वस्थित रब्बा–अल–अदाविया मस्जिद र पश्चिमस्थित अल–नाहदा चोकमा शिविर स्थापना गरी धर्ना बसेका प्रदर्शनकारीलाई हटाउन आवश्यक कारबाही गरेको जनाएको छ। मन्त्रालयले काहिरा विश्वविद्यालयनजिकको नाहदा चोक खाली गराइएको जनाएको छ। मुस्लिम ब्रदरहुडका कार्यकर्ता भने डेढ महिनाअघि सेनाद्वारा अपदस्थ गरिएका राष्ट्रपति मुर्सीलाई पुर्नवहाली गर्नुपर्ने मागसहित लगातार प्रदर्शन गरिरहेका छन्।

उपराष्ट्रपतिद्वारा राजीनामा

उपराष्ट्रपति मोहमद एल–बारादेईले धर्नामा गरिएको कारबाहीमा बल प्रयोग र हिंसा भएको भन्दै बिहीबार राजीनामा दिएका छन्। बारादेईले मुर्सीलाई अपदस्थ गर्दा सेनाको समर्थन गरेका थिए। बुधबार प्रहरी कारबाही हुँदा ब्रदरहुड कार्यकर्ता र मुर्सी समर्थक प्रदर्शनकारी प्रहरी र सेनासँग भिडेका थिए। सुरक्षा निकायले कायरोस्थित दुई धर्नास्थल खाली गराउन प्रदर्शनकारीविरुद्ध बुलडोजर, अस्रु ग्यास र गोली प्रहार गरेको थियो । राजधानी कायरोमा प्रहरीले धर्नामा हस्तक्षेप गरेपछि बुधबार बुहायरा र बेनि सुएफ प्रान्तसहित एलेक्जान्ड्रिया, मिन्या, एसिउत, फायुम, र स्वेज सहरमा प्रदर्शनकारी–प्रहरी झडप भएका थिए।

सेनाले मुर्सीलाई अपदस्थ गरेपछि बुधबारको कारबाही र हत्या तेस्रो हो । तर बुधबार गरिएको कारबाही र हत्याले सेना इजिप्टमा आफ्नो पकड बढाउन दृढ रहेको स्पष्ट भएको छ । संकटकाल घोषणापछि लगाइएको कफ्र्युमा सेनाले शंकाका आधारमा पक्राउ गर्नसक्ने, अनिश्चितकालीन हिरासतमा राख्नसक्ने अधिकार पाएको छ । सेनाले आफू सत्तामा आउन नचाहेको र छ महिनाभित्र आम चुनाव गराएर सत्ता हस्तान्तरण गराउने बताउँदै आएको छ । तर इजिप्टमा बढ्दै गएको राजनीतिक संकटका कारण चुनाव र प्रजातन्त्र नै संकटमा परेको आशंका गर्न थालिएको छ ।

कारबाहीको भत्सर्ना

संयुक्त राष्ट्र संघ, युरोपेली महासंघसहित अमेरिकाले इजिप्ट प्रहरीद्वारा प्रदर्शनकारीको धर्नामा बुधबार गरेको कारबाहीको भत्र्सना गरेका छन् । राष्ट्र संघ र युरोपेली महासंघले तत्कालै संकटकाल हटाएर राजनीतिक समाधान गर्न आग्रह गरेका छन् । टर्कीका प्रधानमन्त्री रिसेप ताइप एर्डोगानले कारबाहीलाई नरसंहारको संज्ञा दिएका छन् । एर्डोगानले राजधानी अंकाराबाट संयुक्त राष्ट्र संघको सुरक्षा परिषदसँग इजिप्टमा बुधबार भएको नरसंहारको छानबिन गर्न अनुरोध गरेका छन् ।

मुर्सी समर्थकद्वारा आगजनी

ब्रदरहुडले धर्नामाथि प्रहरी कारबाहीको विरोधमा बिहीबार राजधानी कायरोमा विरोध ¥यालीको आह्वान गरेका छन् । ब्रदरहुडको आह्वानपछि सयौं कार्यकर्ताले राजधानी कायरोका सरकारी कार्यालय भवनमा पसेर बिहीबार आगजनी गरेका छन् । हत्याको विरोधमा सयौं मुर्सी समर्थक बिहीबार दोस्रो ठूलो सहर एलेक्जान्ड्रियाका सडकमा उत्रेका छन् । प्रदर्शनकारीले ‘हामी शहिदका लागि फेरि फर्कन्छौं’ भन्दै नारा लगाएका थिए ।

चर्चप्रति आक्रोश

धर्नास्थलबाट लखेटिएपछि मुर्सी समर्थक प्रदर्शनकारीले बुधबार मध्य इजिप्टको एउटा चर्च आगजनी गरे । मध्य इजिप्टको सोहागस्थित मर जर्जिस चर्चमा प्रदर्शनकारीले बुधबार आगजनी गरेका हुन् । मुर्सी समर्थक प्रदर्शनकारीले मिन्या, असिउत र सोहागस्थित चर्चमा आक्रमण गरेका थिए । सोहागमा कप्टिक इसाइहरू ठूलो संख्यामा बसोबास गर्छन् । करिब साढे आठ करोड कुल जनसंख्या रहेको इजिप्टमा १० प्रतिशतजति कप्टिक इसाइ छन् । त्यहाँका पादरीले मुर्सीलाई अपदस्थ गर्दा सेनाको समर्थन गरेका कारण प्रदर्शनकारीको आक्रोश चर्चमा पोखिएको हो । भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses