बोक्सीको आरोपमा पूर्वमन्त्रीको घरमा महिलालाई कुटीकुटी मारियो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

पर्सा, १ भदौ । बोक्सीको आरोपमा गाउँलेको कुटाइबाट पर्सासुपौली–९ सढी टोलकी भगन राउतकी ४५ वर्षीया श्रीमती पार्वती देवीको शुक्रबार मृत्यु भएको हो । छिमेकी जगदीश राउतको २० वर्षीया छोरी प्रतिमा कुमारीलाई जादुटुना गरेको आरोपमा पार्वतीलाई गाउँका केही मान्छेले बिहीबार राति १ बजे घरबाट नियन्त्रणमा लिई कुटपिट गरी हत्या गरेको पीडित पक्षको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले बताएका छन् । छोरी सुनकेशरी कुमारी र श्रीमान् भगनलाई कोठाभित्र थुनेर पार्वतीलाई लछार–पछार गर्दै घरबाट बाहिर लगेका थिए । सोही गाउँका मोहनलाल चौधरीको बैठक घरमा लगेर पार्वतीलाई हात, खुट्टा बाँधी रातभरि कुटपिट तथा चरम यातना दिएपछि बिहान उनको मृत्यु भएको थियो । चौधरी पूर्वमन्त्री तथा तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य हुन् ।



घटना दबाउन पार्वतीको शवलाई गायव गर्न खोजिरहेका बेला सूचनाका आधारमा प्रहरी घटनास्थल पुगी शव नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न गाउँकै पासपति देवी, सीताकुमारी राउत र रेणुदेवी महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाबाहेक सोही गाउँका अनिल राउत, विश्राम राउत, नवीन राउत, धनराज राउत र प्रतिमाकुमारी थारू घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हाल उनीहरू फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले जनाएका छन् । बोक्सी अभियोग लगाइएकी महिलालाई तत्काल गाउँ निकाला गर्न भारतबाट आएका एक झाँक्रीले भनेका थिए । सोही आधारमा एक पञ्चायती राखी गाउँ निकालाको निर्णय भएको थियो । तर, पञ्चायतको निर्णय नमान्दा पीडित बनाइएकी पार्वतीको मृत्यु भएको हो । यता, पूर्वमन्त्री चौधरीले आफूले शुक्रबार बिहान मात्र घटनाबारे जानकारी पाएको बताएका छन् । उनले भने, ‘घटनाबारे बिहान मात्र थाहा पाएँ, कुराको खोजीनीति गरिरहेको छु ।’

एक महिनाभित्र पर्सामा बोक्सीको आरोप लगाई महिलालाई यातना दिने यो दोस्रो घटना हो । यसअघि साउन २२ गते पर्साको विश्रामपुर गाविसमा एक जना ५० वर्षीय महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र ख्वाइएको थियो । विश्रापुर–१ का बद्रीप्रसाद चौरसियाकी श्रीमती सरस्वती देवीलाई दुई महिलासहित चार जनाले नियन्त्रणमा लिई मलमूत्र ख्वाएका थिए । मुलुकी ऐन अदल १० को ‘ख’ मा बोक्सीको आरोपमा कुनै महिलामाथि दुव्र्यवहार गर्नेलाई तीन महिनादेखि दुई वर्षसम्म कैद वा ५ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।

यसैबीच, नेपाल सरकारले बोक्सीको आरोपसम्बन्धी कसुर तथा सजाय ऐन अध्यादेशमार्फत ल्याउने निर्णय ६ महिनाअघि गरेको थियो । तर, हालसम्म नयाँ कानुन कार्यान्वयनमा आएको छैन । ल्याउन खोजिएको नयाँ कानुनअनुसार बोक्सीको आरोप लगाउनेलाई एक वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था र १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।freenepal.

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses